लमजुङ – अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङमा १८ घर पुरिएका छन् । मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा बुधबार बिहान पहिराेले १८ घर पुरिएका हुन् ।
त्याे ठाउँमा मङ्गलबार गएको कपासे खोलाको पहिरोमा थप पहिरो त्यही ठाउँबाट आएकाेले घर पुरिएकाे वडाध्यक्ष प्रेम बस्नेतले बताउनुभयो । पहिराले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सिर्जना गोतामे घाइते भएको उहाँले जानकारी दिनुभयो ।
घाइतेमध्ये सिर्जनाको खुट्टा भाँचिएको, देवबहादुरको खुट्टाको गेडी भाँचिएको र सुजनको टाउकोमा चोट लागेको छ । घाइतेलाई बेँसीशहर नगरपालिका ८ मा रहेको जिल्ला सामुदायिक अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।
मङ्गलबार नै त्याे पहिराले गाउँमा क्षति गर्न थालेपछि स्थानीयलाई अन्यत्र राखिए पनि उनीहरु बुधबार बिहान सामग्री निकाल्नका लागि आएका र त्याे पहिराले घाइते भएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । गाउँका ८० घरमा नै क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । जनप्रतिनिधि, प्रहरी, स्थानीयलगायतले यतिबेला पहिराले नपुरिएका घरमा रहेका सामग्री निकालिरहेका छन् ।