सागर रिजाल
ऐरावती, प्युठान ।
ऐरावती गाउँपालिका वडा नं २ बरौला धाईरीखर्कका पूर्व प्रधानाध्यापक ओमबहादुर जिसीले व्यक्तिगत लगानीमा ऐरावती गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । आज ऐरावती गाउँपालिकाको स्वास्थ्य शाखामा गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहलाई जिसीले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
कोरोना संक्रमणका समयमा फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी पिपिई एक सेट, गन थर्मोमिटर एक थान, ग्लब्स १ प्याकेट, सर्जिकल मास्क पाँच सय थान हस्तान्तरण गरेको जिसीले बताउनुभयो । स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चौकीमा विभिन्न प्रकारका बिरामीहरु आउने हुदाँ उहाँहरुलाई जाँच गर्नका लागि सहज हुने उदेश्यले स्वास्थ्य सामाग्री वितरण गरेको जिसीको भनाई छ ।
स्वास्थ्य सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष शाहले कोरोना संक्रमणका समयमा पालिका क्षेत्रमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिनुभयो । स्थानीय स्तरमा हुने यस्ता खालका सहयोगले अन्य व्यक्तिहरुलाई समेत राम्रो सन्देश जाने उहाँको भनाई छ । कोरोना संक्रमणका समयमा फ्रन्टलाईनमा खटिने व्यक्तिहरुलाई लक्षित गरी विभिन्न संघसंस्था तथा राजनीतिक दलबाट पनि सहयोग भईरहेको अध्यक्ष शाहले बताउनुभयो ।
रत्नेश्वरी प्रावि ओखारीका पूर्व प्रधानाध्यापक समेत रहनुभएका जिसीले प्रहरी चौकी बरौलालाई र पुरनठाँटी बचत तथा ऋण सहकारी संस्थालाई १००÷१०० थान थान सर्जिकल मास्क समेत हस्तान्तरण गरेको बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष नविल विक्रम शाह, उपाध्यक्ष बुद्धबहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङ र स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य अधिकृत राजेश पाण्डेको उपस्थितीमा रहेको थियो ।