.सागर रिजाल
प्युठान,१२ फागुन ।
ऐरावती गाउँपालिका–४ धुवाङ स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएको छ । स्थानीयस्तरमा सर्वसाधारण नागरिकलाई सेवा उपलब्ध गराउने उदेश्यका साथ प्रयोगशाला स्थापना गरिएको हो । कर्मचारी व्यवस्थापन र स्वास्थ्य चौकीले प्रयोगशालाका लागि आवश्यक माईक्रोसप, सेन्त्रीप्युज र कलोरीमिटर लगायत सामान खरिदमा सहयोग प्राप्त भएपछि इन्चार्ज बालगोपाल श्रेष्ठको पहलमा प्रयोगशाला स्थापना गरी सञ्चालन गरिएको स्वास्थ्य चौकीले जनाएको छ ।
हालै स्थापना गरिएको उक्त प्रयोगशालामा कल्चर सेवा बाहेक रगत, दिसापिसाब, खकार तथा वीर्य परीक्षण लगायतका स्वास्थ्य सेवा सुविधाहरु उपलब्ध रहेको इन्चार्ज श्रेष्ठले बताउनुभयो । धुवाङ स्वास्थ्य चौकीमा उपलब्ध स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउनका लागि सेवा थप गरिएको उहाँले बताउनुभयो । जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौबाट ल्याई स्वास्थ्य चौकीमा स्थापना गरिएको इन्चार्ज श्रेष्ठले बताउनुभयो ।
प्रयोगशाला सञ्चालनमा आएपछि धुवाङ क्षेत्रका नागरिक संगै ऐरावती गाउँपालिकाका अन्य वडाहरुका नागरिकहरुलाई पनि जिल्ला अस्पताल विजुवार सम्म पुग्नुपर्ने समस्या अन्त्य हुने श्रेष्ठले बताउनुभयो । साथै स्थानियस्तरमा यो सेवा पाउने भएपछि यहाँका नागरिकहरु समय र पैशाको बचत हुने भन्दै खुसि भएका छन् । यहाँका नागरिकहरुका लागि ठुलो उपलब्धी भएको स्थानियहरुको भनाई रहेको छ । अन्य स्वास्थ्य चौकीमा आबस्यक पर्ने वस्तुहरु आन्तरीक श्रोतबाट खरिद गरिएको श्रेष्ठले बताउनुभयो । ऐरावती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शंकर भण्डारीले प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमको सहजिकरण अनमी गीता थापाले गर्नुभएको थियो । त्यस अवसरमा स्वाथ्य चौकीका इन्चार्ज बालगोपाल श्रेष्ठ, स्वास्थ्यचौकी समितिका सदस्य रित बहादुर भण्डारी, अनमी सुष्मा रोका, असिस्टेन्ट शोभा जिसी लगाएतले स्वास्थ्य सेवाका बारेमा बताउनुभएको थियो । प्रयोगशाला उद्घाटन कार्यक्रमका अबसरमा स्वास्थ्य संस्थाको भवन निमार्णका लागि जग्गा दान गर्ने व्यक्तिहरु टेक बहादुर राना, सुरेश राना र उमा रानालाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो । उक्त स्वास्थ्य चौकीमा दैनिक ३० देखि ४० जना बिरामीहरु स्वास्थ्य जाँचका लागि आउने गरेका छन् ।